नेपाली पाठकहरुमा समर्पित
Brows the books by genre
Discover, Read and Review
Nepali books review and ratings
Popular Reviews
Disclaimer 1 - यो किताब पेटमा राखि सुतेर नपढ्नु । पढ्नै परे शरीर नथिच्ने गरी पढ्नु अन्यथा दुष्परिणामको लागि तयार रहनु । Disclaimer 2 - विशेषतः विवाहित पाठकहरुले यो किताब बाहिर पनि संसार छ भन्ने नभुल्नु । भुल्ने स्थिति देखिए श्रीमान् वा श्रीमतिमाथि नजर दौडाउनु अन्यथा दुष्परिणामको लागि तयार रहनु । पहिलो कथामा नगरकोटीले उनको आफ्नो लेखन शैलीमाथि जसरि भद्र कटाक्ष गरेका छन् त्यसरी अन्य कसैले शायदै गर्लान् । उनको लेखनको वा लेखन शैलीको खण्डन् गर्नुपर्ने आवश्यकता भएमा उनकै पहिलो कथाबाट धेरै पाठ सिक्न सकिन्छ । अलजाइमरर्सग्रस्त लेखकको कथा सँगै नगरकोटीले गरेको शुरुवात ७७७ पृष्ठको पुस्तकमा पाठकको ध्यान तानेर राख्न लायक छ । छिन्द्रिङ डेली लाईफ छिन्द्रिङ, गायब, गोल्ड फिस, मानसिक आश्रम, मेन्टाज & सिनोप्सिस जस्ता कथाहरुले पुस्तकको पूर्वार्धमा तानेर राख्छन् । पोस्टकार्ड स्टोरिज श्रृङ्खला छोटा भईकन उत्कृष्ट छन् । लघुकथा भन्दा पनि छोटा कथाहरु पोस्टकार्ड स्टोरिज अन्तर्गत समेटिएका छन् । पोस्टकार्ड पठाउँदाको ढाँचामा यी कथाहरु बुनिएका छन् । ग्रे स्टोरिज नगरकोटिको पुराना शैलिका कथाहरु छन् । शैलि पुरानो भएतापनि कथाहरु बेजोड छन् । तर यहाँ आईपुग्दा मैले यो महसुस गरें Nagarkoti has really grown over time as a story teller. ग्रे स्टोरिज अन्तर्गतको फ्याक्ट्री कथा(पेज नं. ३८१)मा बाबर्चीले कथाको म (पुरुष Narrator) लाई " किन एक्लै आएकी ? लोग्नेलाई पनि फ्याक्ट्री घुमाउन ल्याएकी भए हुन्थ्यो नि ! ....... " बाट सम्बोधन शुरु गरी अर्को हरफ सम्म महिलालाई झैँ सम्बोधन गरेकोले कथा पढ्दा अन्योल भई रह्यो । स्क्रिन प्ले स्टोरिज स्क्रिन प्ले कै शैलिमा लेखिएका २ कथाहरु छन् । ट्रान्सक्रिएटेड स्टोरिजमा नगरकोटीले कथानक शैलीमा विश्वसाहित्यको स्वाद दिएका छन् । ट्रान्सक्रिएटेड स्टोरिजका लागी नगरकोटीलाई धन्यवाद । अन्तिम टाईपोग्राफिक स्टोरी 'खग्रास'मा टाईपोग्राफिक प्रयोग सहित कथा बुनिएको छ । प्रयोग गज्जब छ । पढ्दा समेत आनन्द लाग्ने । तर यो प्रयोग नगरेकै भए पनि कथाको ओज नघट्ने मेरो व्यक्तिगत ठम्याई हो । ल्याम्प पोष्ट र शनैः शनैः शब्द अलि बढि नै प्रयोग भएको भेटें । किताब छ ? पढ्नुस् । छैन ? खोजेर पढ्नुस् । मलाई यो प्रतिक्रिया लेख्दै गर्दा उठान गर्न डर लागेको विषय हो नगर–कोटीको साहित्य । नगरकोटीको साहित्य आलोचित हुँदा उनलाई लाग्ने आरोपहरुमा अङ्ग्रेजी र हिन्दीको आवश्यकता भन्दा बढि प्रयोग, यौन तथा यौनिकताको अनावश्यक व्याख्या, गैर कथा वा उपन्यासलाई कथा वा उपन्यास भनिने गरेको, केही निश्चित विम्बहरुको झर्कोलाग्दो निरन्तर प्रयोग आदी(बाँकि नसमेटिएका विषय मनमनै सम्झिएर मःम भने भयो) । कल्पग्रन्थ पनि ती विषयमा अछुतो छैन । तर त्यति हुँदा हुँदै पनि नगरकोटीको साहित्य नगर–कोटीको साहित्य हो या गर–कोटीको साहित्य हो ? नयाँ पुस्ताका लेखकले आफ्ना लेखनमा प्रयोग गर्न सिक्ने या डराउने ? J.R.R. Tolkien को The Lord of the Rings (Series का पुस्तकहरु), G.R.R. Martin को Song of Ice & Fire (Series का पुस्तकहरु) र नेपाली भाषमा सन्जिव उप्रेतिको 'हंस'मा समेत अस्तित्वमा हुँदै नभएको भाषा प्रयोग गरिएको छ । त्यसले भाषाको मानमर्दन भयो भनेर विरोध गर्ने नगर्ने ? प्रयोगहरुको प्रयोगमा कल्प–ग्रन्थ कोषेढुङ्गा हुने क्षमता राख्छ । हुन्छ या हुन्न त्यो भविष्यको गर्भमा छ । बाँकि रह्यो Pre-order को कुरा, कल्पग्रन्थ मैले Pre-order गरेको पहिलो पुस्तक होईन र अन्तिम पनि हुनेछैन । व्याकरणमा भएका त्रूटिहरुका लागि माफि माग्छु ।
कडक स्वभावसहित स्पष्ट र हाक्की पहिचान बनाउन "खोज्ने" लेखक जिके पोख्रेलको "गोहो" कथासंग्रह अक्षरशालाले वि.सं. २०७५ मा प्रकासित गरेको हो । पहिलो कथामै कथाकारले कथाकारिता शिल्पको ट्रिजरका रुपमा चक्रिय शैलीमा कथोत्र्कष लुुकाएर पाठकलाई लामो कथा पढाउँछन् र थाहै नपाइकन कथाको अन्त्य गरिदिन्छन् । कथाको गोहो पहिल्याउँदै फर्किएर "आनन्दपुरबासी ढुक्क थिए । छ महिनादेखि गाउँको कोही पनि हराएको थिएन ।" (आन्दपुर, १०) भन्ने कथांशबाट जिली भेटिलानुपर्छ ।
विम्वात्मक लक्ष्यणामा प्रेरित कथाकारले "डम्बरेसँगको तिलकको नैतिक पौठेजोरी जाँडको डबकामा डुब्नेअधिको झिंगाको उफ्राइभन्दा फरक रहेन ।" (आन्दपुर, २२०), "राति सर्पले डस्यो भने हारगुहार गर्न पनि नपाउने गरी यी भ्यागुत्ताहरु कराउन सक्दारहेछन् । मान्छेलाई पर्ने आपत्तीसँग यिनलाई कुनै मतलब छैन । यी विचाराहरुलाई कोशीको बाढीले बगाउला भन्ने सुर्ता पनि छैन ।" (भैंस, ५३०), "यस्तो विपत्तीमा ब्यारेजका कर्मचारीको मन रुनपर्ने हो । देश रुनुपर्ने हो । नेपाल र भारतका नेताहरुको विचार रुनु पर्ने हो तर तिनीहरुको मन नरोएपछि कुकुर रोएर के हुन्छ र ? ती कुकुरमा जति पनि चेतना छैन जस्तो छ ।" (भैंस, ५४०), "डुब्न लागेको छ दिनभरि दुनियाँ तताएर चिसो हुन लागेको डरपोख घाम ।" (भैंस, ४४०) जस्ता विम्वहरू मार्फत जीवनको साध्य, प्राकृतिक लिला, विपद, राजनैतिक छेडखानी आदि प्रस्तुत्त् गरेको पाइन्छ ।
संग्रहको न्वारानको भार समेत धानेको "गोहो" कथामा "चितुवाले घिसारेको घाइते बाख्रो खोज्दै गएझै रगत चुहिएको गोहो पछ्याउँदै जाँदा भेटिएकी थिई ऊ ।" (गोहो, ३६०) र "अब तिमीले पनि मलाई माफी दिइनौ भने जीवनभर मेरो कर्मको रगतपच्छे गोहोमा भौंतारिइरहने छु ।" (गोहो, ४२०) यी दुई कथांशहरूलाई कथाको शीर्षक सार्थकताको भारी बोकाएका छन् । अझ भनौ यि दुई कथांशलाई नै हुट्टिट्याउँ बनाएर कथाभार हुदै संग्रहभारसम्मको आकाश थमाएको देखिन्छ । यस बाहेक "गाईबाख्रा हिड्न सक्ने सानो गोहोवरिपरि ।" (सुराकी, ११७) कथांशमा गोहो शब्दलाई सरलीकृत गरी बुझाउन खोजिए पनि यस कथांशमा कथाभार देखिदैन ।
कथामा कथाकारले चरित्र–संवाद मार्फत अफ्ना तर्कहरूको प्रस्तावना गरेको पाइन्छ । जस्तो की : "सब थिकथाक चल्ने भए पासा जिन्डगी जिन्डगी नै भएन नि ।" (मोचनघाट, ६५०), "महिलाहरुमा खालि यो दशधारा दूध, खोइ कुन्नि कति थोपा रगत, अनि नौ महिना गर्भ बोकेको भन्ने फुर्ति लडाउन किन आउँछ हँ ।" (मोचनघाट, ७२०), "महिलाले रगत र दूध बगाउँछन् पुरुषले पसिना । यी दुवै मिलेपछि मात्र पारिवारिक जीवन सार्थक हुन्छ ।" (मोचनघाट, ७३०), "के सबैको श्रीमान मायाको कुरामा श्रीमतीभन्दा कमजोर हुन्छन् ?" (तारा, १२३०) जस्ता तर्कहरु स्थापित गरेको पाइन्छ ।
उखानलाई समयसापेक्ष्यकृत गर्दै "सबै पाहुना सह लिएर आउँदैनन् । कोहीकोही बम लिएर पनि आउँछन् ।" (सुराकी, ११२०) जस्तो पुराना उखानको समसामायिक काल, परिस्थिति अनुकुल विनिर्माण गरेको देखिन्छ भने "बाहुनको छोरो परें र मात्रै । नत्र पक्कै लाहुरे भइसक्थे ।" (छेकारो, १६१०) जस्ता लक्षणामूला कथांशले डार्क एडभोकेसीका रुपमा बाहुन पहिचानलाई पौरबी गरेका छन् ।
अब, राम्रो मात्रै भनेर मेरो भात पच्दैन । छिर्के हालेर नेपाली धर्म पनि निभाउनु छदैछ । पहिलो कथाहरूमा शिक्षकका बेतिथी माथी तारो हानेर थाङ्गथिलो पारेपछि पछिल्ला कथाहरुमा शिक्षकका जिम्मेवारी जोडेर तुलो मिलाउन कुमाइबुद्दि पनि लगाएको पाइन्छ । त्यस्तै माओबादीको ज्यादती र कम्जोरी पक्षमा उछितो खनेर नअघाएको अगस्त्य जस्ता देखिएका कथाकार "गोहो" कथामा सुर्यप्रसाद र "सुराकी" कथामा रमेरशराज जस्ता माओवादी पात्रमार्फत तुलो मिलाउने दुश्प्रयास पनि गर्न भ्याएका छन् ।
नारीपुरुष दुवैको सहकार्य नै घर हो भन्ने मानङ्क बनाउन "महिलाले रगत र दूध बगाउँछन् पुरुषले पसिना । यी दुवै मिलेपछि मात्र पारिवारिक जीवन सार्थक हुन्छ ।" (मोचनघाट, ७३०) जस्ता तर्क स्थापित गरे पनि जब "आज तिम्रो मुखबाट यो तिमी भन्ने शब्द कसरी निस्कियो ?" (तारा, १४००) समीर पात्रलाई बोलाइएको यो कथासंवादले भने पुरुषवादी अहम् घच्चिले ओकलेको पाइन्छ ।
यस बाहेक, सरलमा नै दमदार बनाउने उद्योग राम्रै फष्टाएको भए पनि कतैकतैको क्लिष्ट भाषा शिल्पले साहित्यको काँचो विद्यार्थीहरूलाई र कतिपय झर्रो शब्दाहरूले नवउदारवादका बोइलर साहित्यिक पुस्ताले गाउँजे भाषाहरू भेउ पाउला÷नपाउला अहिलेनै नजरअन्दाज गरिहाल्न सिकिएन । त्यस्तै, माओबादीको ज्यादतीको सातपत्रे केलाउन बसिसकेपछि माओबादीहरूले गरेका सबैखाले ज्यादतीहहरूलाई दपार्णछायाँ देखाउन सकेको भए... ! जस्तै, ब्रह्मलूट, खानेकुरामा गरेको रजाइँ (राक्षसराज), कुलपित्र तथा पवित्र स्थानको तोफमोड (सांस्कृतिक अपमान), जागिरे, आर्मी पुलिसका परिवारले भोग्नु परेको बुहार्तन (व्यबहारिक सकस) आदि पनि आएको भए भन्ने पाठकिय लालाचभरी स्वास्र्थ अमिलै रह्यो ।
अन्त्यमा, द्वण्द्वकालिन समाज दर्पण लेख्ने चेस्मा "दोषी चेस्मा" ले कलमी बन्दुकको नोख एकोहोरो माओबादी तिर मात्रै तेर्सिएको देखियो नी ? द्वण्द्वकालिन समयावधीमा सरकारी पक्ष (सरकार, आर्मी, पुलिस, कर्मचारी आदि) बाट अत्यचार नै भएन त ? बेपत्ता पारेनन् ? जनताले सरकारी पक्षको बुहार्तन नै भोग्नु परेन त ? द्वण्द्वकालिन घटनामा दोषको तराजुमा के माओबादीको पल्लामात्रै गह्रुङ्गो छ ? अव के "गोहो"लाई द्वण्द्वकालिन सरकारको पौरवी मानी दिनु पर्ने हो ? कि सत्तासँग डराएका कथाकारको कायरताको पराकाष्टा मानी दिनु पर्ने हो ? आदि इत्यादि प्रश्नहरू सहित "गोहो"लाई अपरम्पार सफलताको शुभकामनाको शुभेच्छा ।
धन्यवाद ।
गत साता काठमाडौं छोड्न केही घन्टा बाँकी रहँदा के बिर्से के बिर्सेजस्तो लाग्यो । विमानस्थलतिर जाँदै गर्दा केही समय बचेको थियो । एक दुई वटा किताव ‘पिक’ गर्ने विचार गरेर भोटाहिटी छिरेँ । त्यहाँ पार्किङ समस्या भएकाले ड्राइभरलाई रानीपोखरी घुमेर आउनु भन्दै पुस्तक पसलमा छिरें । विजय कुमारका सम्वन्धहरु, शीवा साहको कान्छा महारानी, झमक घिमिरेको जीवन काँडा कि फूल किताब टिपे । एकजना साथीले गिफ्ट दिएको सुशीला कार्कीको न्याय र सुरुभक्तको पागल बस्ती बोकेर आएँ । वास्तवमा मैले पुस्तक पसलमा दधी सापकोटोको वनको वैभव र जीवा लामिछानेको देश देशावर खोजेको थिएँ । जीवा दाईको किताव बजार आएको छैन रहेछ, तर दधिजीको किताव मैले खोजेको पसलमा थिएन् अर्कोमा जाने समय पुगेन, त्यसैले ल्याउन सकिनँ । मगाउने प्रयासमा छु । लन्डन आएपछि यी सबै पुस्तक पढ्छु भन्ने लागेको छैन् तर मान्छेको मुड न हो पढिपो हाल्छिकि भन्ने लागेको छ ? हेर्दै जाउँ । अहिले विजय कुमारको सम्वन्धहरु पढ्न थालेको छु । पुरै पेज होइन् मनले खाएका पढ्म पढ्म लाग्ने मात्र हेरेको छु । विजय कुमार नेपाली पत्रकारिता जगत्का एक चर्चित कोकोकोलाजस्तै ब्रान्ड हुन् । अरुले झ्याप्पै त्यो ब्रान्ड मेट्न सक्दैन् । उनीको आफ्नै शैली छ र केही पात्रहरुको दायराभित्र उनीले पत्रकारिताको जीवन व्यथित गरेका छन् । टेलिभिजन कार्यक्रममा जस्तै सम्वन्धहरुमा पनि आफूलाई मनपर्ने पात्रहरुलाई कहिनकही जोडेका छन् । प्रदिप गिरी, डा. भगवान कोइराला, क्या. रामेश्वर थापा, कैलाश सिरौरिया, जुगल भुर्तेलदेखि ऋषि धमलासम्मका पात्रहरुको चर्चा गरेका छन् । अहिलेसम्म पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम भेटेको छैन् । पढ्दै जाँदा भेटिएला । देशको एक कुसल र चर्चित पत्रकारले अर्को संस्थाका कार्यरत सहकर्मी पत्रकार सुम्निमालाई चाहिँदो भन्दा बढी उचालेर आफ्नै अस्थित्व मेट्न खोजेका छन् । मैले सुनेको र बुझेअनुसार विजयले टेलिभिजनबाट ख्याति कमाए, कान्तिपुर पव्लिकेशनबाट स्थापित पत्रकार हुन् । तर उनले यो किताबमार्फत् अन्नपूर्ण पोष्ट चाहिनेभन्दा बढी उचालेर कान्तिपुर प्रकाशनमाथि अन्याय गर्ने प्रयास गरेका रहेछन् । उनीको खुशीमा जस्तै सुरा र सुन्दरीको चर्चा पनि गरिएको छ । खुसीमा जस्तै बालुवाटार वाल वालमा दारु खाएर छादे जस्तै सम्वन्धमा सुरा र सुन्दरीका प्रशंसा सम्बन्धमा बगेका छन् । खुसीमा जस्तै केही विदेशीहरुसँग सम्वन्ध रहेकोको प्रसँगलाई घुमाई फिराई कितावमा पस्केका छन् । उनले सामान्य ट्वीटर एकाउन्ड कसरी चलाउने लगायत सोसियल मिडियाको प्रसँगसमेत जोडेर कितावलाई फितालो बनाएका छन् । वास्तवमा यो विजय कुमारको आत्म केन्द्रीत किताव हो । तपाईंहरु विजय कुमारको खाँटी फ्यान हो भने आजै यो किताव सुरक्षित गर्नुहोला । पुरै किताव पढ्न बाँकी नै छ । किताव पढ्दा उनको बोलीमा जस्तै शब्दमा मिठास आउँछ । 'मिडिया चप्पल कारखाना हो' पूरा जीवन मिडियाको कारखानामा बिताएका विजयले मिडिया भगवान होइन् भनेका छन् । मिडियाका साहुहरु र तीनले भर्ना गर्ने सम्पादकहरु सत्यवादी हरिश्चन्द्रका मानस पुत्र पनि होइनन् भनेका छन् । विजयले भनेका छन्– ‘वैश्ययुगमा चप्पल कारखाना चलाउनु र मिडियाबीच खासै फरक रहँदैन । मिडिया उद्योग पनि एउटा कारखाना हो, जसले सही वा गलत सूचना उत्पादन गर्छ र बेच्न खोज्छ ।’
Recent Reviews
एक सर्को मायाँ र पहेँलपुर उपन्यास गजबका छन् भनेर बेलाबेला धेरैले भनेको सुनेकोपढेको हुँ । यसै मेसोमा एक सर्को मायाँ पढे पहिले । एक सर्को मायाँ पढेपछि के नपुगेको, केही कम भएको जस्तो, कथा आधाउधी भएजस्तो लाग्यो । केहीले पहेँलपुरले त्यो सबको उत्तर दिन्छ भनेर सुनाए । र सुरु गरे पहेँलपुर । पुस्तक ठुलै लाग्यो । पहिलो च्याप्टरले खासै तान्न सकेन । तर फेरी त्यत्रा प्रश्नहरु छोडेको थियो एक सर्को मायाँले, ति सबको उत्तर त जान्नै पर्ने हुटहुटी मनमा थियो । जसोतसो अगाडि बढेँ । पुस्तकले रहस्य खोल्दै लग्यो ।
सेबक बाजेले भनेको उसको मालिकको कथा, तृष्णाले भनेको आफ्नो हजुरआमा हजुरबुवाको कथा अनि दिनेशले भनेको आफ्नो बा र बाको प्रेमिकाको कथाहरु मिठा छन् । यी सबै कसरी आलोकसँग सम्बन्धित छन् भन्ने कुरा पाठकलाई त थाहा हुन्छ तर लेखकले केहि पात्रहरुलाई त्यो कुरा थाहा दिएका छैनन् पुस्तकमा । जसबाट अलिक रोमाञ्च थपिएको छ कथामा ।
लेखकले एक सर्को मायाँमा जस्तै पहेँलपुरमा पनि कथालाई नेपालको एउटा लामो समयरेखामा चलाएका छन् । यस्तो लाग्छ नेपालको पञ्चायतकालदेखि अहिलेसम्मको समय समेटिएको छ । जस्तो गाउँमा पञ्च र उनिहरुका नातेदारहरुको गाउँघरमा हुनेगरेको दबदबा । गाउँलेहरु माथिको अत्याचार, छोरीचेलीहरु माथि हुने गरेको बलात्कार, हाकिमहरुको हैकम आदि इत्यादिहरुको कथा भनिएको छ । पहेँलपुर खासमा माओवादी संगठनकै अर्को नाम जस्तै पनि लाग्छ कतै कतै । कसरी नेपाली समाजलाई जबरजस्ती उनिहरुको पछि लाग्न बाध्य पारिएको थियो बि.सं. २०५० को दशकमा, हो त्यसरी पहेँलपुरमा मानिसहरुलाई पहेँलो पारिएको छ, जबरजस्ती । हामी नेपालीहरु जसरी बाध्य थियौँ र छौँ त्यसरी नै पहेँलपुरका पात्रहरु बाध्य पारिएका छन् विभिन्न षड्यन्त्र रचेर ।
लेखकले पुस्तकलाई राशोमोन इफेक्ट शैलीमा लेखेका छन् । राशोमोन इफेक्ट सन १९५० मा जापानका डाइरेक्टर अकिरा कुरोसावाले बनाएको चलचित्र राशोमोनबाट नामाकारण गरिएको रहेछ । खासगरी चलचित्रहरुमा यो शैलीको उपयोग बडो मजाको लाग्छ मलाई । एउटै कथालाई बिभिन्न मोडबाट अँझ भनौ भिन्न पात्रहरुको नजरबाट भनिएको हुन्छ । एउटै घटनामा हरेक पात्रको आफ्नो कथा हुन्छ । यही शैली पछ्याएको यो पुस्तक पढ्दै जाँदा यतिका धेरै पात्रहरुको एकअर्कासँग सम्बन्धित छन् कि कन्फ्यूज भइन्छ । को, को हो र कसरी हो भन्ने भेउ पाउन हम्मे परेपछि एउटा पात्रहरुको रेखाचित्र नै बनाएँ । त्यो रेखाचित्र बनाएपछि बल्ल कथा बुझ्न, जोड्न सजिलो भयो । तर पनि पुरै पुस्तक पढिसकेपछि पनि आलोकको बुवाको नाम पत्ता लगाउन सकिन । पुस्तकमा दोहोर्याएर, तेहेर्याएर खोजेँ, अहँ भेट्टाउन सकिन ।

समग्रमा पुस्तक राम्रो लाग्यो । पहिलो पुस्तक पढेको हुनाले पनि होला, कतै न कतै यी सबै कथाहरु सबै हावा हुने होलान भन्ने ठूलो डर थियो । डर डर मै रह्यो । लेखकले फेरी पुस्तकको पात्र शिशिरको जस्तै तेस्रो पुस्तक आउला र यो सबै एउटा दिमागले सोँचेको भ्रम थियो भन्देलान भन्ने डर अँझै पनि छ ।
अच्यूत घिमिरेको फेसबुक पोस्टमा बेलाबेलामा आइरहने किताब हो एक सर्को मायाँ । उहाँले त्यसरी सम्झाइरहने किताब त पढ्नै पर्छ भनेर पढ्ने सुरुवात गरेँ । उसो त कहिलेकाहीँ उहाँकै आवाजमा अरु किताबहरु सुनेको पनि छु । तर यसलाई पढ्नै पर्ने लिस्टमा राखेको थिएँ । जुन पढ्नुमा मज्जा छ त्यो सुन्नमा कहाँ मज्जा आउछ र ।
म कहिल्यै माल्दिभ्स गएको छैन । एक सर्को मायाँले मलाई माल्दिभ्स घुमायो । माल्दिभ्सको कुना कुना घुमायो । त्यहाँको झरीमा रुझायो । म धेरै पल्ट डोनी चढेँ, भिंगीलिंगी पुगेँ । माले सहर अनि त्यो वरिपरिका विभिन्न सानासाना टापुहरु पनि घुमेँ । म त्यो ठूलो रक्बोमा पनि बसेँ । खजाना पिएँ, चुरोट पिएँ, कफि पिएँ । उसो त कथामा राती कफि पिउने पात्रहरु छन् । त्यसरी कसरी राती पनि कफि पिउन सक्ने पात्र बनाएको होला लेखकले भनेर सोँचे पनि ।
अँ अनि माखुसीको सानो बालुवाको थुप्रोबाट बनेको सानो टापुमा राउधा र आलोकले एक अर्काको आलिंगनमा बसेर गरेका हरेक हर्कतहरु खुब मन दिएर हेरेको छु । मेरो अगाडि उनिहरुले कत्ति पनि लाज मानेनन् । न मैले लाज मानेर आँख छोपे । त्यतिबेला परिरहेको झरिले मलाई उत्ति नै भिजायो जति लेखकले राउधा र आलोकलाई भिजाएका थिए ।
कहिँ कतै नमिलेको नमिलेको जस्तो लाग्ने कथाहरु पनि किन लेखकले नमिलाएका होलान भनेर मुर्मुरिँदै पढेको छु । लेखकले अन्त्यमा सम्पूर्ण अपूर्ण लेखनको गतिलो कारण बताएका छन् । कारणको पनि कारण बताउन खोजेका छन् । कथाको फितलो पक्ष मलाई त्यहि लाग्यो । हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो । कुनै कुनै अध्यायहरु सुरु हुन्छन् अनि सकिन्छन् । जसको कुनै अर्थ लगाउन सकिन्न । सायद काँटछाँट गर्दा त्यसो भयो कि ।
लेखकले एउटा टाइमलाइनमा किताबलाई बगाएका छन् । त्यो टाइमलाइन इतिहासमा घटेका घटित सत्य घटनाहरुसँग मिलाइएको छ । लेखक यसलाई धेरैनै मेहेनत गरेर कहिँ कतै गल्ति नगरेर पस्केका छन् । यतिसम्म कि पात्रहरु नयाँ वर्षमा आस्था राउतको चौउबन्दीमा पटुकी बाँध्या छैन भन्ने गीतमा नाचेका छन् । त्यो नयाँ वर्षको मिती गीत रिलिज भएपछिको छ । किताबमा कतै पनि कुनै टाइमलाई नमिलेको मैले भेट्टाइन । यसमा लेखकको अहम रिसर्च, डकुमेन्टेसन आदि कुराहरुको संकेत गर्छ ।
यस किताबमा मलाई एकदमै मन परेका दुई पक्षः
१. लाइनः ओठले चुम्नुसम्म चुमेर गोडाले कुल्चन्छु । खै प्रेम गर्छु कि घृणा । (चुरोट)
२. उपकथाः जेडीको आफ्नो बाउआमाको कथा । मलाई लाग्यो यस कथालाई लेखकले पूरा न्याय गरेनन् । यसलाई त्यसरी आधामै छोड्न हुँदैनथियो ।
समग्रमा किताब मज्जाको छ । कहिँ कतै पनि यो पाना नपढेर स्किप हान्दिउँ जस्तो भएन । अन्त्य अँझ गजबको हुन स्क्थ्यो । कतैकतै रिपिटेड या एक्सपेक्टेड जस्तो पनि छ । तर सामान्य छ । सुन्दर छ ।
Madan Puraskar Nomination [मदन पुरस्कार मनोनयन]
Mukam Ranamaidan Nepal - Angrej Yudhhako Bakhan [मुकाम रणमैदान नेपाल - अंग्रेज युद्धको बखान]
by Mohan Mainali
Nominated for: 2080 BS