एक सर्को मायाँ र पहेँलपुर उपन्यास गजबका छन् भनेर बेलाबेला धेरैले भनेको सुनेकोपढेको हुँ । यसै मेसोमा एक सर्को मायाँ पढे पहिले । एक सर्को मायाँ पढेपछि के नपुगेको, केही कम भएको जस्तो, कथा आधाउधी भएजस्तो लाग्यो । केहीले पहेँलपुरले त्यो सबको उत्तर दिन्छ भनेर सुनाए । र सुरु गरे पहेँलपुर । पुस्तक ठुलै लाग्यो । पहिलो च्याप्टरले खासै तान्न सकेन । तर फेरी त्यत्रा प्रश्नहरु छोडेको थियो एक सर्को मायाँले, ति सबको उत्तर त जान्नै पर्ने हुटहुटी मनमा थियो । जसोतसो अगाडि बढेँ । पुस्तकले रहस्य खोल्दै लग्यो ।
सेबक बाजेले भनेको उसको मालिकको कथा, तृष्णाले भनेको आफ्नो हजुरआमा हजुरबुवाको कथा अनि दिनेशले भनेको आफ्नो बा र बाको प्रेमिकाको कथाहरु मिठा छन् । यी सबै कसरी आलोकसँग सम्बन्धित छन् भन्ने कुरा पाठकलाई त थाहा हुन्छ तर लेखकले केहि पात्रहरुलाई त्यो कुरा थाहा दिएका छैनन् पुस्तकमा । जसबाट अलिक रोमाञ्च थपिएको छ कथामा ।
लेखकले एक सर्को मायाँमा जस्तै पहेँलपुरमा पनि कथालाई नेपालको एउटा लामो समयरेखामा चलाएका छन् । यस्तो लाग्छ नेपालको पञ्चायतकालदेखि अहिलेसम्मको समय समेटिएको छ । जस्तो गाउँमा पञ्च र उनिहरुका नातेदारहरुको गाउँघरमा हुनेगरेको दबदबा । गाउँलेहरु माथिको अत्याचार, छोरीचेलीहरु माथि हुने गरेको बलात्कार, हाकिमहरुको हैकम आदि इत्यादिहरुको कथा भनिएको छ । पहेँलपुर खासमा माओवादी संगठनकै अर्को नाम जस्तै पनि लाग्छ कतै कतै । कसरी नेपाली समाजलाई जबरजस्ती उनिहरुको पछि लाग्न बाध्य पारिएको थियो बि.सं. २०५० को दशकमा, हो त्यसरी पहेँलपुरमा मानिसहरुलाई पहेँलो पारिएको छ, जबरजस्ती । हामी नेपालीहरु जसरी बाध्य थियौँ र छौँ त्यसरी नै पहेँलपुरका पात्रहरु बाध्य पारिएका छन् विभिन्न षड्यन्त्र रचेर ।
लेखकले पुस्तकलाई राशोमोन इफेक्ट शैलीमा लेखेका छन् । राशोमोन इफेक्ट सन १९५० मा जापानका डाइरेक्टर अकिरा कुरोसावाले बनाएको चलचित्र राशोमोनबाट नामाकारण गरिएको रहेछ । खासगरी चलचित्रहरुमा यो शैलीको उपयोग बडो मजाको लाग्छ मलाई । एउटै कथालाई बिभिन्न मोडबाट अँझ भनौ भिन्न पात्रहरुको नजरबाट भनिएको हुन्छ । एउटै घटनामा हरेक पात्रको आफ्नो कथा हुन्छ । यही शैली पछ्याएको यो पुस्तक पढ्दै जाँदा यतिका धेरै पात्रहरुको एकअर्कासँग सम्बन्धित छन् कि कन्फ्यूज भइन्छ । को, को हो र कसरी हो भन्ने भेउ पाउन हम्मे परेपछि एउटा पात्रहरुको रेखाचित्र नै बनाएँ । त्यो रेखाचित्र बनाएपछि बल्ल कथा बुझ्न, जोड्न सजिलो भयो । तर पनि पुरै पुस्तक पढिसकेपछि पनि आलोकको बुवाको नाम पत्ता लगाउन सकिन । पुस्तकमा दोहोर्याएर, तेहेर्याएर खोजेँ, अहँ भेट्टाउन सकिन ।

समग्रमा पुस्तक राम्रो लाग्यो । पहिलो पुस्तक पढेको हुनाले पनि होला, कतै न कतै यी सबै कथाहरु सबै हावा हुने होलान भन्ने ठूलो डर थियो । डर डर मै रह्यो । लेखकले फेरी पुस्तकको पात्र शिशिरको जस्तै तेस्रो पुस्तक आउला र यो सबै एउटा दिमागले सोँचेको भ्रम थियो भन्देलान भन्ने डर अँझै पनि छ ।