एक सर्को मायाँ होइन नशा हो
अच्यूत घिमिरेको फेसबुक पोस्टमा बेलाबेलामा आइरहने किताब हो एक सर्को मायाँ । उहाँले त्यसरी सम्झाइरहने किताब त पढ्नै पर्छ भनेर पढ्ने सुरुवात गरेँ । उसो त कहिलेकाहीँ उहाँकै आवाजमा अरु किताबहरु सुनेको पनि छु । तर यसलाई पढ्नै पर्ने लिस्टमा राखेको थिएँ । जुन पढ्नुमा मज्जा छ त्यो सुन्नमा कहाँ मज्जा आउछ र ।
म कहिल्यै माल्दिभ्स गएको छैन । एक सर्को मायाँले मलाई माल्दिभ्स घुमायो । माल्दिभ्सको कुना कुना घुमायो । त्यहाँको झरीमा रुझायो । म धेरै पल्ट डोनी चढेँ, भिंगीलिंगी पुगेँ । माले सहर अनि त्यो वरिपरिका विभिन्न सानासाना टापुहरु पनि घुमेँ । म त्यो ठूलो रक्बोमा पनि बसेँ । खजाना पिएँ, चुरोट पिएँ, कफि पिएँ । उसो त कथामा राती कफि पिउने पात्रहरु छन् । त्यसरी कसरी राती पनि कफि पिउन सक्ने पात्र बनाएको होला लेखकले भनेर सोँचे पनि ।
अँ अनि माखुसीको सानो बालुवाको थुप्रोबाट बनेको सानो टापुमा राउधा र आलोकले एक अर्काको आलिंगनमा बसेर गरेका हरेक हर्कतहरु खुब मन दिएर हेरेको छु । मेरो अगाडि उनिहरुले कत्ति पनि लाज मानेनन् । न मैले लाज मानेर आँख छोपे । त्यतिबेला परिरहेको झरिले मलाई उत्ति नै भिजायो जति लेखकले राउधा र आलोकलाई भिजाएका थिए ।
कहिँ कतै नमिलेको नमिलेको जस्तो लाग्ने कथाहरु पनि किन लेखकले नमिलाएका होलान भनेर मुर्मुरिँदै पढेको छु । लेखकले अन्त्यमा सम्पूर्ण अपूर्ण लेखनको गतिलो कारण बताएका छन् । कारणको पनि कारण बताउन खोजेका छन् । कथाको फितलो पक्ष मलाई त्यहि लाग्यो । हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो । कुनै कुनै अध्यायहरु सुरु हुन्छन् अनि सकिन्छन् । जसको कुनै अर्थ लगाउन सकिन्न । सायद काँटछाँट गर्दा त्यसो भयो कि ।
लेखकले एउटा टाइमलाइनमा किताबलाई बगाएका छन् । त्यो टाइमलाइन इतिहासमा घटेका घटित सत्य घटनाहरुसँग मिलाइएको छ । लेखक यसलाई धेरैनै मेहेनत गरेर कहिँ कतै गल्ति नगरेर पस्केका छन् । यतिसम्म कि पात्रहरु नयाँ वर्षमा आस्था राउतको चौउबन्दीमा पटुकी बाँध्या छैन भन्ने गीतमा नाचेका छन् । त्यो नयाँ वर्षको मिती गीत रिलिज भएपछिको छ । किताबमा कतै पनि कुनै टाइमलाई नमिलेको मैले भेट्टाइन । यसमा लेखकको अहम रिसर्च, डकुमेन्टेसन आदि कुराहरुको संकेत गर्छ ।
यस किताबमा मलाई एकदमै मन परेका दुई पक्षः
१. लाइनः ओठले चुम्नुसम्म चुमेर गोडाले कुल्चन्छु । खै प्रेम गर्छु कि घृणा । (चुरोट)
२. उपकथाः जेडीको आफ्नो बाउआमाको कथा । मलाई लाग्यो यस कथालाई लेखकले पूरा न्याय गरेनन् । यसलाई त्यसरी आधामै छोड्न हुँदैनथियो ।
समग्रमा किताब मज्जाको छ । कहिँ कतै पनि यो पाना नपढेर स्किप हान्दिउँ जस्तो भएन । अन्त्य अँझ गजबको हुन स्क्थ्यो । कतैकतै रिपिटेड या एक्सपेक्टेड जस्तो पनि छ । तर सामान्य छ । सुन्दर छ ।